विराटनगर । मोरङको बेलवारीको पूर्व-पश्चिम राजमार्गमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६७६ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिँदा टिपर अनियन्त्रित भई सोही दिशातर्फ आउँदै गरेको मे१ज २८५६ नम्बरको बोलेरो ठक्कर दिँदा दुर्घटना भएको हो।
मृत्यु हुनेमा बोलेरो चालक विर्तामोड नगरपालिका-२ झापाका कृष्ण गजुरेल, बोलेरोमा सवार कमल गाउँपालिका-२ का यदुकान्त भट्टराई र कमल गाउँपालिका-४ की दीपा खनाल छन्। उनीहरूको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
उक्त घटनामा घाइते भएका विर्तामोड-२ की ४८ वर्षीया गायत्री भट्टराई र विर्तामोड-४ का ४६ वर्षीय हरि खनालको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
टिपर चालक चन्द्रकुमार विक र बसका चालक छत्रकुमार मास्केलाई प्रहरीले नियन्त्रणमा लिएको छ।