मेडिकल व्यवसायी प्रसाईंले बोक्ने हतियार प्रकरणमा छानविन समिति गठन

काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बडिगाडले बोक्ने हतियारको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । बिहीबारको मन्त्रीपरिषद् बैठकले प्रसाईंले प्रयोग गर्दै आएको हतियारको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा ४ सदस्यीय समिति बनाएको हो ।

यही चैत ५ गते सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईंका दुई बडिगार्ड हतियारसहित पक्राउ परेका थिए । प्रसाईंका बडिगार्ड दिपक खड्का र राजकुमार धिमाल हतियारसहित पक्राउ परेका थिए । उनीहरुबाट प्रहरीले २२ बोर ए३५४७५२ को हतियार बरामद गरेको थियो ।

सो हतियार आफूले जिल्ला प्रशासन कार्यालय झापाबाट अनुमति लिएर राखेको दाबी प्रसाईंले गरेका छन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने समय सीमा दिइएको छ । सहसचिव पाण्डेको संयोजकत्वमा गठित समितिमा गृह मन्त्रालयका उससचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी छन् ।