काठमाडौं। सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् ।
उनको सचिवालयका अनुसार सभामुखले आज बिहान साढे ११ बजे सिंहदरमा प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्ने छन् ।
आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् ।
सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् ।
सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आहवान गरेका थिए । तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन । संसदको बर्खे अधिवेशन आगामी २८ गतेदेखि सुरु हुँदैछ ।