काठमाडौंमा सूर्तीजन्य पदार्थको प्रयोग पूर्ण निषेध छ मेयर बालेन

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरपालिका क्षेत्रका सार्वजनिक ठाउहरुमा सूर्तीजन्य बस्तुको प्रयोग पूर्ण निषेध रहेको बताएका छन् ।

महानगरपालिका क्षेत्रका सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थको प्रयोग गर्न नपाउने व्यवस्था गरेको मेयर बालेनले बताए ।

विश्व सूर्तीजन्य पदार्थ रहित दिवसका सन्दर्भमा कार्यपालिका बैठकमा उनले भने, ‘महानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थको प्रयोग गर्न नपाउने कानुनी व्यवस्था गरेको छ। धेरैले यसलाई अदालतको आदेशले रोकिएको भन्नुभएको छ। तर, हामीले अगाडि सारेको कार्यक्रम र अदालतले आदेश गरेको विषय फरक हो ।’ उनले विषय स्पष्ट पार्दै भने, ‘हामीले सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थको प्रयोग गर्न नपाउने व्यवस्था गरेको हौँ । अदालतले गरेको आदेश प्याकेजिङ्सँग सम्बन्धित छ । फरक विषयलाई फरक रुपमा बुझ्नुपर्छ ।’

दिवसको अवसर पारेर आज वडा-१० ले विद्यालयका विद्यार्थीहरु सहभागी गराएर प्रभातफेरी सञ्चालन गरेको छ । सूर्तीजन्य पदार्थको लतमा पुग्ने समयका बालबालिकालाई सूर्तीजन्यबस्तुको असरका बारेमा व्यवहारिक ज्ञान दिन विद्यार्थीहरुलाई प्रभातफेरीमा ल्याइएको वडाध्यक्ष राम कुमार केसले बताए ।

काठमाडौँ महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा सूर्तीजन्य बस्तु निषेध सम्बन्धी व्यवस्था छ । ऐनको दफा ४२ अनुसार सूर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने, निषेध गर्न सक्ने व्यवस्था छ ।