घरमै बायोमेट्रिक गर्ने व्यवस्था मिलाउन माग

काठमाडौं। नेकपा एमाले सांसद ऋषिकेश पोखरेलले घरमै बायोमेट्रिक गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पोखरेलले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएपछि ज्येष्ठ नागरिकहरूले बायोमेट्रिक गर्न सास्ती खोप्नु परेको भन्दै दुख नदिन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले टोली घर घरमै खटाउने व्यवस्था मिलाएर अर्को वर्षदेखि नयाँ नियम लागू हुनेगरि व्यवस्था गर्न समेत माग गरेका छन् ।

उनले भने, ‘परिचयपत्रको व्यवस्थापन गरेर ,घरमा बायोमेट्रिक गराएर, अर्को वर्षदेखि लागू हुनेगरि यो वर्ष यी प्रक्रियालाई रोक्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’