‘उपहार’ फिल्म हेर्दा आमदर्शकलाई नयाँ ऊर्जा हुनेछ : अभिनेत्री रेखा थापा

काठमाडौं । अभिनेत्री रेखा थापा पाँच वर्षपछि फिल्म ‘उपहार’मार्फत दर्शकमाझ आउँदैछिन् । रेखा पहिलो सन्तानलाई जन्मदिन परिवारसँग अमेरिकामा रहेपनि यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’को प्रचारप्रसार अमेरिकाबाटनै गरिरहेकी छन् । उनले त्यहीँबाट विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिइरहेकी छन् ।

‘मालिकापछि मैले अभिनेत्रीकै रुपमा फिल्ममा त काम गरिनँ । तर, एक दुईवटा फिल्मका गीतमा केमियो गरें’, उनी भन्छिन्, ‘फिल्ममा काम गर्ने सोच त थियो, तर बीचमा कोभिड महामारीको लकडाउनले त्यो सम्भव भएन ।’

रेखाको बुझाइमा ‘उपहार’ अमूल्य विषय हो । उनको भनाइमा ‘उपहार’ दर्शकको मन मस्तिस्कमा बस्ने गरी लेखिएको र बनाइएको छ । ‘नेपाली फिल्म नियमित हेरिरहने र कहिल्यै नेपाली फिल्म नहेर्ने दर्शकले पनि ‘उपहार’लाई हेर्नुहुनेछ भन्नेमा हामी ढुक्क छौं । यो फिल्म हेर्दा आमदर्शकले नयाँ ऊर्जा पाउनुहुनेछ ।’

रेखाका अनुसार ‘उपहार’ले सामाजिक विषयवस्तुलाई मनोरञ्जनपूर्ण हिसाबले प्रस्तुत गरेको छ । नेपाली फिल्ममा एउटै विषयवस्तु भयो भन्ने आरोप आफूले पनि सुनिरहेको बताउने उनले त्यो आरोपलाई ‘उपहार’ले गलत साबित गर्ने दाबी गरिन् ।

रेखाले ‘उपहार’मा समाज रुपान्तरणका कुरादेखि लिएर हरेक दिन समाजमा भइरहने घटनाका कुरा पनि उठान भएको बताइन् । फिल्ममा नारीमात्र होइन, पुरुष पनि पीडित छन्न् भन्ने कुरा देखाइएको उनले सुनाइन् ।

‘५–१० वर्ष यता नेपाली फिल्ममा देखिँदै आएका कथा भन्दा ‘उपहार’को कथा फरक छ । हामीले ‘हिट’ भन्दा पनि दर्शकले मनपराउने कथामा फिल्म बनाएका छौं । फिल्मको कथा, छायांकन, सम्पादन, संगीतलगायत सबै कुराले दर्शकलाई मनोरञ्जन दिन्छ भन्नेमा ढुक्क छौं । दर्शकले तनाव मुक्त भएर ‘उपहार’ हेर्नुहुनेछ’, उनले भनिन् । अभिनेत्री थापाले नयाँ कलाकारसँगको सहकार्यले आफू खुशी भएको बताइन्।