काठमाडौं । आम जनता पार्टी ९आजपा० निकटको आईटी आर्मीले वैदेशिक रोजगारीका पीडितहरुलाई न्याय दिलाउन वैदेशिक रोजगार विभाग काठमाडौंमा आज पनि घेराउ गरेको छ ।
आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा विभिन्न मागहरु गर्दै वैदेशिक रोजगार विभाग घेराउ गरिएको हो ।
वैदेशिक रोजगारीमा जाने कामदारसँग लिएको अबैध रकम फिर्ता गराउन तथा यस क्षेत्रका विविध समस्याहरु समाधान गर्नुपर्ने माग गर्दै विभागमा धर्ना दिइएको हो ।
विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाही गर्नुपर्ने, बेरोजगार युवाहरुलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको आईटी आर्मीका अध्यक्ष साहले बताए ।
साथै, उनले युवाहरुले विदेशमा दुःख गरेर कमाएको रकम अवैध रुपमा हुण्डीमार्फत दुरुपयोग भइरहेको पनि बताए । नेपालका नेता, प्रशासक र अवैध व्यापारीहरुले हुण्डीमार्फत पैसा ल्याएर आफ्नो कालोधन विदेशमा थुपार्ने काम गरिरहेको उनको आरोप छ ।