भोजपुर । व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन् ।
गाउँघरमा परम्परगत रूपमा गरिँदै आएको राडीपाखी बुन्ने पेशा लोप हुन थालेपछि उत्पादन भएको ऊन बिक्री हुन छाडेको टेम्केमैयुङ–२ का भेडापालक किसान गोविन्द कठेतले जानकारी दिए । मैयुङ क्षेत्रका भेडापालक किसानसँग रहेको गत वर्षकै करिब एक सय धार्नी ऊन बिक्री नभएको उनको भनाइ छ ।
‘पछिल्लो समय भेडाको ऊन बिक्री हुन छाडेको छ’, किसान कठेतले भने, ‘गाउँघरमा राडीपाखी बुन्ने चलन हराउँदै गएसँगै ऊन बिक्री हुन छाडेको छ । ऊन नै बिक्री हुन छाडेपछि चिन्ता थपिएको छ ।’
विगतका वर्षहरूमा ऊन गोठबाट नै प्रतिधार्नी सात सयमा बिक्री हुने गरेको थियो । अहिले छिमेकी जिल्ला खोटाङ पुर्याएमा मुस्किलले प्रतिकेजी एक सय ५० मा बिक्री हुने उनको भनाइ छ ।
ढुवानीलगायत कारण यसरी बिक्री गरिएको ऊनबाट किसानलाई लाभ नहुने उनले जानकारी दिए । त्यहाँसम्म पुर्याउन नै समस्या रहेको कठेतले बताउनुभयो । उत्पादित ऊन बिक्री नहुँदा कुहिएर जाने अवस्था आएको छ ।
हाल मैयुङ क्षेत्रमा भोजपुर र खोटाङ गरी २० वटा भेडीगोठ रहेको उनले जानकारी दिए । एक भेडीगोठमा न्यूनतम एक सयदेखि अधिकतम पाँच सय वटासम्म भेडा रहेको उनले जानकारी दिए । यहाँको मैयुङ, छिमालुङ, गिद्धे, मेरुङलगायत स्थानमा भेडापालन हुने गरेको छ ।
भेडापालक किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री हुन छाडेपछि समस्या थपिएको किसान शेरबहादुर कठेतले बताए । सामुदायिक वनमा चरिचरनको लागि शुल्क तिर्नुपर्दा किसान थप मारमा परेको उनको भनाइ छ । विभिन्न समयमा भेडामा देखिने रोग, घरपालुवा कुकुर तथा भालुले भेडा मारिदिनेलगायत समस्याले पुख्र्यौली व्यवसाय धान्न मुस्किल पर्ने अवस्था रहेको उनले बताए ।
भेडाको चार–पाँच महिनाको बोका १५ हजारदेखि १८ हजारसम्ममा बिक्री हुने उनको भनाइ छ । भेडाको बोकाको भने धेरै माग हुने उनले बताए । भेडापालनमा नयाँ पुस्तालाई आकर्षित गर्न राज्यले प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनी बताउँछन् । भेडापालन व्यवसायलाई संरक्षण नगरिएमा केही समयपश्चात पेशा नै सङ्कटमा पर्ने अवस्था रहेको उनले बताए ।































