धरान- इटहरी उपमहमनगरपालिका-६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आएका छन्।
गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुर्ख्यौली पेसा छोड्न नसकेको र यसबाट निराश हुने अवस्था नरहेको बताए। उनले भने, ‘हामी सबै परिवार माटोको भाँडा बनाउँछौँ, हाम्रा बाजेहरूले पहिलेदेखि बनाउँदै यही काम गर्दै आउनुभएको हो। पुर्ख्यौली पेसा हो अहिले पनि यही भाडाँकुडा बनाएरै घरखर्च पुगेको छ, आम्दानीको स्रोत नै यही हो।’
उनको इनरुवामा माटोको भाँडा बनाउने आरन छ, त्यहाँ बनाका भाडाँकुडा इटहरी लिएर बच्ने गरिएको छ। धेरै व्यापारीले आरनमै आएर खरिद गरी लिने गरेको पनि उनले सुनाए। यसरी बनाउने भाँडाका लागि आवश्यक माटो भने विराटनगरको बर्जुताल क्षेत्रबाट ल्याउने गरेको पण्डितले जानकारी दिए।
पण्डितले माटोको सामान उत्पादन गर्न सकेमा बिक्रीका लागि बजारको समस्या खासै नरहेको बताए। ‘धेरैजसो व्यापारीले कारखानामै आएर सामान लिन्छन्, पसलबाट पनि उति नै बिक्री हुन्छ। धेरैजसो मागका सामान बनाउने भएकाले इटहरी बाहिरका ग्राहकले पनि माग गर्छन्’, उनले भने, ‘पूर्वको झापा, मोरङ, पाँचथर, इलाम, खादबारी, फिदिम, धनकुटादेखि भोजपुरसम्म मागअनुसार गाडीमार्फत उठाउने गरेका छौँ।’
इटहरी उपमहानगरपालिका-६ का व्यापारी युवराज काफ्ले पछिल्लो समय माटोका भाँडा थोरै स्थानमा मात्रे बनाउने गरिएकाले यसको संरक्षण र प्रवर्द्धनका लागि सरकारले पनि सहयोग गर्नुपर्ने बताउँछन्। उनले विगत दुई वर्षदेखि माटोको भाँडाकुँडा व्यापार सुरु गरेको र सिजनअनुसार आम्दानी राम्रै हुने बताए।
‘माटोका भाँडा भनेको जन्मदेखि मृत्युसम्म नै आवश्यक पर्छ। सिजनअनुसार सबै माटोको सामग्री बिक्री हुन्छ, अहिले दियो, कलश धेरै बिक्री हुने गरेको छ’, काफ्लेले भने,’ इनरुवा, विराटनगर, भारतलगायत ठाउँबाट सामान खरिद गरी बिक्री गर्ने गरेको छु। मासिक ३० हजार रुपैयाँसम्म भाँडा बिक्रीबाट आम्दानी हुन्छ।’
































