काठमाडौँ । आँखा स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानलाई थप सुदृढ बनाउने उद्देश्यले तिलगंगा आँखा प्रतिष्ठान र बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिच संस्थागत आदानप्रदानमार्फत शिक्षण, अनुसन्धान र व्यावसायिक क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ सम्झौता भएकाे छ ।
बुधबार तिलगंगा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा दुई संस्थाबिच व्यावसायिक क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
सम्झौता अनुसार अब तिलगंगा आँखा प्रतिष्ठानका विशेषज्ञ प्राध्यापकहरूले नियमित रूपमा धरानस्थित बिपी प्रतिष्ठानमा आँखाका विभिन्न उपविशेषज्ञता सेवा अन्तर्गत ओपिडी तथा शल्यक्रिया सेवा सञ्चालन गर्नेछन् । यसका साथै तिलगंगाले बिपी प्रतिष्ठानमा आरओपी स्क्रिनिङ्ग, उप विशेषज्ञ शल्यक्रिया तथा लेजरसम्बन्धी तालिम प्रदान गर्नेछ भने त्यहाँका प्राध्यापक तथा रेसिडेन्ट चिकित्सकहरूका लागि शैक्षिक कक्षाहरू पनि सञ्चालन गर्नेछ ।
सम्झौता पत्रमा तिलगंगाका तर्फबाट कार्यकारी प्रमुख प्रा. डा. सन्दुक रुइत र बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तर्फबाट उपकुलपति प्रा. डा. विक्रमप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।































