जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्ने छैन : राष्ट्रपति पाैडेल

राष्ट्रपति रामचन्द्र पौडेलले निष्ठा, आदर्श र नैतिकतालाई जोगाउँदै लोकतन्त्र र संविधानको संरक्षण गर्न मुलुकले दिएको जिम्मेवारी पूरा गर्न लागिरहने बताएका छन् ।राष्ट्रपति भवन शीतल निवासमा आत्रेय गोत्रीय पौडेल कुल पूजा व्यवस्थापना समितिले आज गरेको अभिनन्दन कार्यक्रममा उनले आफूले पदभन्दा निष्ठा, आदर्श र नैतिकतालाई सधैँ ठूलो मानेकाले राजनीतिक जीवनमा प्रश्न उठ्ने कुनै पनि काम नगरेको स्पष्ट पारेका छन् ।

राष्ट्रपति पौडेलले भने, ‘मलाई पदभन्दा पनि ठूलो निष्ठा आदर्श र नैतिकता लाग्छ । लामो राजनीतिक जीवनकालमा कुलको इज्जत जोगाएर राखेको छु । खोट लगाउने कुनै काम गरेको छैन र गर्ने पनि छैन ।’ उनले लोकतन्त्र र संविधानको संरक्षण तथा राष्ट्रिय एकताको प्रवर्द्धन र राष्ट्रहितमा सधैँ काम गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा संयोजक साहित्यकार मुकुन्द पौडेलले कुलवंशको परम्पराबारे प्रकाश पार्दै आमन्त्रित सबैमा स्वागत गरेका थिए । कवि तथा कलाकार रमेश पौडेलले राष्ट्रपति पौडेलले आस्था र निष्ठाको आदर्शमार्गबाटै कुलदीपकको ज्योति छरेको बताए । अभिनन्दन तथा सम्मान समारोहमा तनहुँ, चितवन र काठमाडौंका आत्रेय गोत्रीयलगाय क्षेत्र बन्धुहरूको सहभागिता रहेको थियो ।