पोखरा । गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा प्रमाण भेटिए नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि कारबाही हुने बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले गुरुङमाथि अनुसन्धान हुने र प्रमाण भेटिए कारबाही हुने स्पष्ट पारे ।
तथ्य र प्रमाणका आधारमा सरकारले अनुसन्धान र कारबाही अघि बढाएको भन्दै उनले सहकारी ठगी, अपचलन र हिनामिनामा संलग्न कसैलाई नछाड्ने स्पपष्ट पारे । सरकारले कसैको मुख हेरेर नभई तथ्य र प्रमाण हेरेर अनुसन्धान तथा कारबाही गर्ने उनको भनाइ छ ।
संसदीय समितिले अनुसन्धान गरेर कारबाही गर भनेर जीबी राई, रवि लामिछाने, छविलाल जोशी र कुमार रम्तेलको नाम सिफारिस गरेको भन्दै गृहमन्त्री लेखकले जीबी राई बाहिर भए पनि रवि र छविलाई अनुसन्धानको दायरामा ल्याइएको बताए ।
उनले सरकारले सहकारी ठगी, अपचलन, हिनामिना र संगठित अपराधका दोषीलाई कारबाही गर्ने मात्र नभएर सहकारीको बचत फिर्ता गर्नेसमेत स्पष्ट पारे ।
































