स्पेनमा भीषण बाढी: ६२ जनाको मृत्यु

एजेन्सी । स्पेनको दक्षिण पूर्वी क्षेत्रमा आएको बाढीका कारण कम्तीमा ६२ जनाको मृत्यु भएको छ । अरु थुप्रै मानिस हराइरहेका छन् । सरकारले सयौंको संख्यामा सुरक्षाकर्मीहरुलाई उद्धारका लागि खटाइएको छ ।

स्पेनका राजा फेलिप छैठौंले उक्त क्षतिलाई ठूलो विनाशको संज्ञा दिएका छन् । साथै कतिपय स्थानमा प्रभावित मानिसहरुलाई उद्धार गर्न कठिनाइ भएको बताएका छन् ।

स्पेनी प्रधानमन्त्री पेद्रो सान्चेजले भने यसअघि नै सबैको उद्धार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भएका कतिपय भिडियोमा भने बाढीले पुल भत्काएको र सडकका कार बगाउँदै गरेको देखिन्छ ।

२०२१ पछि युरोपमा बाढीले सबैभन्दा ठूलो क्षति अहिले पारेको बताइएको छ । २०२१ मा जर्मनीमा १८५ मानिसको मृत्यु भएको थियो । स्पेनमा यसअघि १९९६ मा भीषण बाढीले ८७ जनाको मृत्यु भएको थियो ।