राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्विरोध चयन

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को अध्यक्षमा पुनः प्रदीपराज वन्त निर्विरोध चयन भएका छन् ।

समूहको आज यहाँ आयोजित २७ औँ साधारणसभा तथा १३ औँ अधिवेशनले राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समूहको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, प्रथम उपाध्यक्षमा सुनील शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन भएका छन् ।

केन्द्रीय सदस्यमा सुशीलकुमार श्रेष्ठ, मुकुन्द कालीकोटे, रमिता छुँजु, हरिश सिंह नगाल, दिपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेत चयन भएका छन् । विसं २०५३ मा स्थापना भएको सो समूह फोटो पत्रकारको पहिलो छाता सङ्गठन हो ।

समूहले फोटो पत्रकारको व्यावसायिक हकहित, पेसागत सुरक्षा, क्षमता विकास र फोटो पत्रकारिताको विकासका लागि विविध कार्य गर्दै आइरहेको अध्यक्ष वन्तले जानकारी दिए ।