नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमाले मिलेर सरकार बनाउनुको औचित्य पुष्टि गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेस सिन्धुपाल्चोकको पार्टी कार्यालय वीपी अध्ययन केन्द्रको नवनिर्मित भवनको शनिबार चौतारामा उद्घाटन गर्दै उनले मुलुकको विशिष्ट अवस्थाका कारण एमालेसँग सत्ता सहकार्य गर्नु परेको प्रस्ट्याए।
‘दुई ठूला दल मिलेर सत्ता सहकार्य गरिसकेपछि त्यसको औचित्य पुष्टि गर्नु पर्छ,’ सहयात्री एमाले सधैँ कांग्रेसको मुख्य प्रतिस्पर्धी रहेको जनाउँदै महामन्त्री थापाले भने।
संविधान संशोधन र विधिको शासन स्थापनाको लागि मुख्य प्रतिस्पर्धी दलसँग सत्ता सहकार्य गर्नु परेको उनको प्रस्टोक्ति थियो।
पार्टीभित्र बृहत्तर एकताको खाँचो औँल्याउँदै महामन्त्री थापाले यसको निम्ति नेता, कार्यकर्ताले मुख्य भूमिका खोल्नु पर्नेमा जोड दिए।
सहकारी अनियमितता आरोपमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेप्रति इङ्गित गर्दै नेता थापाले कोही पनि विधिको शासनभन्दा माथि हुन नसक्ने भनाइ राखे।
‘जघन्य अपराधमा सामान्य मान्छेलाई जुन कानुन लाग्छ, सत्ता शक्तिमा भएकाहरूलाई पनि लाग्ने कानुन त्यही नै हो,’ उनले भने।
































