गैंडाको स्थानान्तरण राज्यको ढुकुटी रित्याउने फजुल खर्च

नवलपरासी गैंडाको बासस्थान मिलाउन निकुञ्ज भित्र गरिने आन्तरिक स्थानान्तरण राज्यको ढुकुटी रित्याउने फजुल खर्च भएको स्थानीयले बताएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर नवलपुरबाट पूर्वी क्षेत्रमा गैंडा स्थानान्तरण गर्ने राज्य नीति प्रति कावासोती १५ गोडारमा भएको एक अन्तरक्रिया कार्यक्रममा पर्यटन व्यवसायीहरूले सो कुरा बताएका हुन् ।

सहभागीहरूले गैंडा स्वभावैले घासे मैदान, हो हल्ला रहित सुरक्षित क्षेत्र र घोल आहालमा बस्न रमाउने वन्यजन्तु भएकाले निकुञ्जले स्थानान्तरण नभई बासस्थान व्यवस्थापन तर्फ लाग्नु उपयुक्त हुने बताए ।

चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले गत वर्षको चैत्र महिनामा पश्चिम क्षेत्रमा गैँडाको संख्या बढी रहेको भन्दै ६ जीउ गैंडा ठूलो धनराशि खर्चिदै पश्चिमबाट पूर्वी क्षेत्रमा स्थानान्तरण गरेको थियो ।

पछिल्लो समय निकुञ्जको पश्चिम क्षेत्र नवलपुरका शिसवार,नमूना,शान्ति,गुन्द्रहा ढकाहा ,अमलटारी लगायतका सामुदायिक वनमा बच्चा सहितका गैंडाहरू प्रशस्त देखिने गरेको होटल तथा पर्यटन व्यवसायीहरू बताउछन् ।

गैंडा संरक्षणका लागि समन्वय समिति गठन
यसै बीच बिहिबार जिल्लामा गैंडा लगायत वन्यजन्तुको दिगो संरक्षण हेतु समाजसेवी एवं पाका सरक्षणकर्मी बिष्णु प्रसाद अधिकारीको संयोजकत्वमा गैंडा संरक्षण समन्वय समिति नवलपुर गठन भएको छ ।
समितिले वन्यजन्तुको दिगो संरक्षणका लागि स्थानीय समुदाय, सरोकार निकाय, पर्यटन व्यवसायी तथा राष्ट्रिय निकुञ्जसंग समन्वय र सहकार्य गर्दै अघि बढ्ने जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी भूभाग नवलपुर क्षेत्र वन्यजन्तु बिचरणका दृष्टिले अब्बल देखिएको छ ।
गैंडा,हरिण, चितुवा बाघ लगायत वन्यजन्तु यहाँका जंगलमा सहजै देखिन थाले पछि पछिल्लो समय यस क्षेत्रमा पर्यटकहरूको उपस्थिति बाक्लिएको छ ।
यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकहरूले दिनहुँ जसो दूर्लभ एक सिंगे गैंडा,बाघ,हरिण,बँदेल,मयुर लगायत विभिन्न प्रजातिका चरा अवलोकन तथा डुंगा सयर गर्ने गरेको जिल्ला होटल व्यवसायी संघका अध्यक्ष सन्तोष रानाले बताए ।