नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाएका छन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस दिनलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।
योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त भएका थिए । नुहाइधुवाइ, घरमा लीपपोत गरेर योमरी पकाउने प्रचलन छ । योमरीमा तिलसमेत राखेर डल्लो बनाइन्छ । नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् ।
साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि रहेको छ ।































