स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी

काठमाडौँ, ३ पुस : तनहुँको पूर्वी नाकामा पर्ने आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालले स्वास्थ्य सेवालाई मजबुद बनाएको छ ।

स्थानीय तहमा पहिलो पटक हर्नियाको सफल शल्यक्रिया गरेर ख्याति कमाएको यस अस्पतालले हेमोडायलासिसका साथै शल्यक्रियासहितको आमा सुरक्षा कार्यक्रम गर्न स्वीकृति पाएको हो ।

मङ्सिर महिनामा थप तीन वटा स्वास्थ्य सुविधाका लागि स्वास्थ्य सेवा विभागबाट अनुमति पाएपछि यस क्षेत्रका बासिन्दालाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।

दमौली अस्पतालका सुपरीटेन्डेन एवं सर्जन डा परिवर्तन बरालको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले केही दिनअघि स्थानीय ५९ वर्षका माधवप्रसाद वाग्लेको हर्नियाको सफल शल्यक्रिया गरेको थियो ।

त्यसैगरी मिर्गाैलाका बिरामीको डायलासिस सेवा सञ्चालनका लागि स्वास्थ्य सेवा विभागमा सूचीकृत भएपछि सेवा दिन सुरू गरेको सो अस्पतालले जनाएको छ ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा केही दिनअघि गएको टोलीले अस्पतालमा सेवा सञ्चालनका लागि सूचीकृत नहुँदा पूर्ण क्षमतामा सेवा दिन समस्या भएको जनाएपछि मन्त्री पौडेलले सहजीकरण गर्नुभएको  थियो ।

सेवा सूचीकृतका साथै अस्पतालका लागि आवश्यक सामग्री र उपकरणमा सघाउने मन्त्री पौडेलबाट आश्वासन पाउँदा थप हौसला मिलेको अध्यक्ष चुमानले बताउनुभयो ।

साथै, स्वास्थ्य सेवा विभागको मङ्सिर २६ गतेको निर्णयले शल्यक्रिया सहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमका लागि अनुमति स्वीकृत प्रदान गरेको छ ।

उक्त कार्यक्रम लागू भएसँगै गाउँपालिकामार्फत सञ्चालित अस्पतालमा सुत्केरी गराउने महिलाले सरकारले दिने सुविधा रकम प्राप्त गर्नेछन् ।

उक्त अस्पतालबाट तनहुँसहित छिमेकी जिल्ला गोरखा, लमजुङ र चितवनका केही क्षेत्रका बासिन्दाले सेवा लिँदै आएको आँबुखैरेनी अस्पतालका प्रमुख डा डिबी क्षेत्रीले जानकारी दिनुभयो ।