गुरु रवि शंकरद्वारा आगामी २१ डिसेम्बरमा विशेष प्रवचन

संयुक्त राष्ट्र संघले आगामी २१ डिसेम्बरको दिनलाई विश्व ध्यान दिवस (वर्ल्ड मेडिटेसन डे) को रुपमा मनाउने निर्णय गरेको हाे ।

विश्व ध्यान दिवसको अवसरमा हुने प्रबचनलाई ‘द आर्ट अफ लिभिङ फाउण्डेशन’ले विश्वव्यापी रुपमा प्रत्यक्ष प्रशारण गर्ने भएकाे छ ।

सोही सन्दर्भमा आध्यामिक गुरु श्री रवि शंकरको विशेष प्रवचन आउन लागेको हो । ‘गत ७ डिसेम्बरका दिन संयुक्त राष्ट्र संघको बोर्ड बैठकले विश्व ध्यान दिवसको रुपमा २१ डिसेम्बरको दिनलाई मनाउने निर्णय गरेको थियो ।

सोही सन्दर्भमा यसपटक गुरुदेव श्री रवि शंकरले विश्वव्यापी प्रवचन दिन लाग्नु भएको हो । नेपाल सहित १८४ देशमा यसको प्रत्यक्ष प्रशारण हेर्न सकिन्छ,’ विश्व ध्यान दिवसबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा द आर्ट अफ लिभिङका नेपालका अध्यक्ष सिद्धेश्वर कुमार सिंहले भने । उनले श्री रवि शंकरले मानव कल्याणका लागि ध्यान तथा अध्यात्मलाई विश्वभर फैलाएको बताउँदै त्यसैको सम्मानमा युएनले वर्ल्ड मेडिटेसन डे का अवसरमा आफ्नो मुख्यालयमा बोलाएर ध्यान तथा अध्यात्मबारेमा प्रशिक्षण लिन खोजेको बताए ।

हुन पनि द आर्ट अफ लिभिङ फाउण्डेशनका संस्थापक श्री श्री रवि शंकरले विश्व ध्यान दिवसको अघिल्लो दिन अर्थात २० डिसेम्बरका दिन अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा विशेष प्रवचन दिने छन् । विश्व ध्यान दिवसकै दिन अर्थात २१ डिसेम्बरमा उनले दिने प्रवचन तथा ध्यान कार्य भने आर्ट अफ लिभिङले अनलाइनको माध्यमबाट प्रत्यक्ष प्रशारण गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा आर्ट अफ लिभिङ नेपालका महासचिव प्रभुराज वैद्यले विश्व ध्यान दिवसको घोषणा हुनु र श्री श्री रविशंकरले विश्वव्यापी रुपमा प्रवचन सुन्न पाउनु महत्वपूर्ण अवसर भन्दै हरेक नेपालीहरुले अनलाइनबाट सो अवसर लिन आग्रह गरे । उनले भने, ‘आगामी २१ डिसेम्बर भनेको ६ पुस शनिवार पर्छ । सो अमेरिकाबाट श्री श्री रवि शंकर ज्यूले अनलाइन रुपमा प्रवचन दिनु हुनेछ । नेपाली समय अनुसार बेलुका ८ बजे देखि त्यसको प्रत्यक्ष प्रशारण हुन्छ ।

हरेक नेपालीले सुन्नु होला हेर्नुहोला ।’ शरीर स्वस्थ राख्न योगको भूमिका रहेजस्तै मस्तिष्क स्वस्थ राख्नका लागि ध्यान जरुरी रहेको भन्दै महासचिव वैद्यले ध्यानको परिवर्तनकारी फाइदाहरू उजागर गर्न र शारीरिक, मानसिक र आध्यात्मिक कल्याणको लागि यसको अभ्यासलाई प्रवर्द्धन गर्न युएनले विश्वव्यापी उत्सवको रुपमा यो दिन मनाउन लागेको बताए ।