काठमाडौं – सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको जङ्गली हात्ती (मकुना)को मृत्यु प्रकरणमा छानबिन समिति गठन गरेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले वन मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए।
“आज वनमन्त्रीकै उपस्थितिमा भएको बैठकले उक्त समिति गठन गरेको हो, वन्यजन्तु संरक्षणका लागि कस्ता उपाय अपनाउन सकिन्छ ? भन्ने विषयमा समेत राय सुझाव समेटेर प्रतिवेदन दिने छ”, महानिर्देशक कँडेलले भने ।
निकुञ्जले आज सार्वजनिक गरेको विज्ञप्तिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मा भएको व्यवस्थाबमोजिम आत्मरक्षाका लागि टोलीले दुई राउन्ड ‘वार्निङ’ (चेतावनी) स्वरुप हवाई फायर गरिएको र भाग्नुको सट्टा थप आक्रामक बन्दै सानो हात्ती खगेन्द्रप्रसादतर्फ आउँदा त्यहाँ सवार रेन्जर श्याम तामाङ भुइँमा खसेकाले उनको सुरक्षा गर्न अत्यन्तै कठिन भएपछि गोली चलाउनु परेको उल्लेख गरेको छ ।
































