म्याग्दी – म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशतले वृद्धि भएको छ। सुन्तला म्याग्दीमा बिक्री हुने प्रमुख कृषि उपज हो।
“गतवर्ष तीन हजार ६०० मेट्रिकटन सुन्तला उत्पादन भएको म्याग्दीमा यो वर्ष चार हजार ७८१ मेट्रिकटन उत्पादन भएको छ”, उनले भने “म्याग्दीका कृषकले यसवर्ष रु ३३ करोड ४६ लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन्।”
सरदर प्रतिकिलो रु ७० का दरले सुन्तला बिक्री भएको छ। यसवर्ष प्रतिहेक्टर ११ दशमलव २५ मेट्रिकटनका दरले सुन्तला उत्पादन भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताए। गत वर्ष प्रतिहेक्टर आठ दशमलव छ मेट्रिकटनका दरले सुन्तला उत्पादन भएको थियो।
जिल्लाभर ८१० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकामा ४२५ हेक्टरमा फल लाग्ने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ। गतवर्ष रु २४ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको थियो। कृषि ज्ञान केन्द्रका प्राविधिकहरुले ‘क्रप कटिङ’ विधिबाट सुन्तलाको उत्पादनको अवस्थाको बारेमा उत्पादनको अवस्था पहिचान गरेका हुन्। उत्पादन दिने बोट थपिएको र मौसमले साथ दिएकाले सुन्तला उत्पादन बढेको मङ्गला गाउँपालिका–३ दहका कृष्णलाल सापकोटाले बताए।
जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिन लगायतका बजारमा सुन्तला बिक्री हुने गरेको छ। यातायात सुविधा भएकाले व्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै आउने गरेका छन्।
































