हुम्लामा कोदो उत्पादन

सिमकोट – हिमाली जिल्ला हुम्लामा यसवर्ष कोदो उत्पादन वृद्धि भएको छ। कोदोको सरोकारवाला पक्षको समन्वयनमा बजारीकरण हुन थालेपछि यसको उत्पादनमा वृद्धि भएको हो।

पछिल्ला वर्ष जिल्लामा कोदो उत्पादन वृद्धि भइरहेको कृषि बिकास कार्यालयका प्रमुख चुडामणी पन्तले जानकारी दिए। कुअन्नका रुपमा चिनिँदै आएको कोदोको परिकार बिबिधिकरण गर्नका लागि जिल्ला बाहिर बजारीकरण हुन थालेपछि स्थानीय कोदो खेतीतर्फ आर्कषित हुन थालेको कारण उत्पादनमा वृद्धि भएको होे।

यसअघि हुम्लामा कोदोको रोटी र ढिडो मात्र खाने गरिन्थ्यो। तर हाल यसबाट जिल्ला मै पनि अन्य बिभिन्न परिकार तयार पारेर बिक्री हुन थालेपछि किसानसंग उपभोक्ता र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले कोदो नै खरिद गर्न थाल्दा यसबाट पनि आम्दानी हुने देखिदा किसान खेतीमा लागेका हुन। जिल्ला दररेट अनुसार कोदो प्रतिकेजी नब्बे रुपैयाँमा खरिद बिक्री हुने गरेको छ।

कृषि क्षेत्रमा काम गर्दै आएका निकायहरुले पनि कोदो खेतीको प्रर्बद्धनका कार्यक्रमहरु सञ्चालन गर्नाले पनि यसको उत्पादनमा सहयोग पुगेको उनले बताए।

कार्यालयले उपलब्ध गराएको बिबरण अनुसार यसवर्ष एक हजार ६२ हेक्टर जमिनमा कोदो खेती गर्दा एक हजार १३० मेट्रिकटन कोदो उत्पादन हुँदा प्रति हेक्टर एक दशमलव सुन्ने सात मेट्रिकटन उत्पादन भएको छ। जव कि गत आर्थिक वर्ष सोही जग्गामा एक हजार १२५ मेट्रिकटन कोदो उत्पादन भएर प्रति हेक्टर एक दशमलव सुन्ने तीन मेट्रिकटन उत्पादन भएको थियो। अझ दुई वर्ष अगाडि उक्त जमिनमा ९८५ मेट्रिकटन कोदो उत्पादन भएको थियो। जिल्ला दररेट अनुसार कोदो प्रतिकेजी नब्बे रुपैयाँमा खरिद–बिक्री हुने गरेको छ।