पर्साबाट सशस्त्र प्रहरीले करिब ५८ लाख ६४ हजार ८ सय ३० रुपैयाँ बराबरको हिरा र सुनको गरगहना बरामद गरेको छ ।
वीरगन्ज महानगरपालिका–१६ स्थित सीमा इलाकाबाट शनिवार राती सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको कारलाई जाँच गर्ने क्रममा प्लास्टिकमा प्याक गरिएको शङ्कास्पद बस्तु फेला परेको थियो । सो क्रममा थप खानतलासी गर्ने क्रममा ड्राइभरले कारलाई भगाएका थिए । सामान छाडी कार र व्यक्ति फरार भएपछि बरामद गहना थप प्रमाणित गर्न आइतबार पर्सा स्थित सुनचाँदी व्यवसायी संघमा पठाइएको थियो ।
सो गरगहनामा २२ लाख ५१ हजार ८ सय ४० रुपैयाँ बराबरको ७०.३७ क्यारेट हिरा र ३६ लाख १२ हजार ९ सय ९० रुपैयाँ बराबरको २४६.७३ ग्राम सुन रहेको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।































