इस्लाम धर्मावलम्बी आज मुख्य पर्व ईद–उल–फित्र मनाइरहेका छन्

महोत्तरी– इस्लाम धर्मावलम्बी आज मुख्य पर्व ईद–उल–फित्र मनाइरहेका छन् ।  ‘ईद पर्वको मङ्गलमय शुभकामना’ सबै एकापसमा अङ्कमाल गर्दै ईदको शुभकामना आदानप्रदान गर्दैछन् । इष्टमित्रको जमघटमा हिन्दू धर्मावलम्बीको उपस्थिति बाक्लै देखिन्छ ।

फरक धर्म, संस्कृति र परम्परामा बाँधिएकाहरुबीचको अन्तर्घुलनले सामाजिक तथा धार्मिक सद्भाव वृद्धिमा सहयोग पुग्ने स्थानीय तथा नेपाल सरकारका सहसचिवबाट अवकाश प्राप्त ७० वर्षीय रामबहादुर भुजेल बताउँछन् । भङ्गाहा–४ रामनगरकै इस्लाम धर्मावलम्बी शेष जब्बारका घरमा ईद पर्वको शुभकामना दिन अन्य धर्मावलम्बी पनि पुगेका छन् । “साथीहरुको जमघटले ईद धेरै रमाइलो भएको छ”, पाहुनाको स्वागतमा जुटेका शेष भन्छन्, “सधैँ यस्तै रमाइलो गर्न पाइयोस् भन्ने अल्लाहसँग दुआ माग्छु ।”

एक महिने रमजान रोजा हिजो आइबार सकेका इस्लाम धर्मावलम्बीले आज परम्पराअनुसारको मुख्य पर्व ईद मनाउँदैछन् । हिजरी सम्वत्कै सव्वाल महिनाको पहिलो तारिखमा मनाइने यो पर्व इस्लाम परम्परामा करुणा र मानवीय सेवाको प्रतीक मानिन्छ । ईदमा इस्लाम धर्मावलम्बी आफ्नो कमाइको साढे दुई प्रतिशत ‘जकात’ मा छुट्याउँछन् ।

                                                                                                                                                                                                                                  १८ चैत्र २०८१, सोमबार