पोखरा विमानस्थलमा अब नियमित अन्तर्राष्ट्रिय उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।

चीनको ल्हासाबाट १ सय ७ जना यात्रुसहित हिमालय एयरलाइन्सले नियमित उडान गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । योसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने पहिलो वायुसेवा कम्पनी हिमालय एयरलाइन्स बनेको छ ।

पहिलो नियमित अन्तर्राष्ट्रिय उडानमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आएका यात्रुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि चिनियाँ राजदूत छेन सङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले स्वागत गरे ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १७ पुस २०७९ देखि सञ्चालनमा आएको हो । विमानस्थल सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन ।

यात्रुहरूलाई स्वागतपछि विमानस्थलमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पहिलो नियमित उडान सुरु हुनु आफैंमा महत्त्वपूर्ण भएको बताए ।

 

चैत १८, २०८१ साेमबार