काठमाडौं। हुम्लाको नाम्खा हिमपहिरासम्बन्धी अध्ययन गर्न गठित समितिले आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई प्रतिवेदन बुझाएको छ ।
प्राधिकरणका सिनियर डिभिजनल इञ्जिनियर सुशीलकुमार श्रेष्ठ संयोजकत्वको गठित अध्ययन टोलीले सिंहदरबारमा प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टलाई आफ्नो प्रतिवेदन बुझाएको हो ।
उक्त अध्ययन टोलीमा खानी तथा भूगर्व विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बाँस्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट सौहाद्र जोशी सहभागी थिए।
श्रेष्ठले भने, ‘आज हामीले अध्ययन प्रतिवेदन प्राधिकरणमा बुझाएका छौँ, त्यहाँ माथिको तालको हिउँ पग्लिएर तलबाट चुहिएर पानी निस्किएको पाइएको छ, ताल छेउमा एउटा ढिस्को पनि छ, उक्त ढिस्कोको दबाब पर्न गएपछि पानी निस्किएको हो ।’ उनले माथिबाट निस्किएको पानी भिरालो जमिन हुँदै बाहिरिँदा कटान हुँदै बाढीका रूपमा परिणत भएको बताए।
सो क्षेत्रको कतिपय ठाउँ चर्किएको र ढुङ्गा खस्ने अवस्थामा रहेकाले वर्षा हुँदा फेरि बाढी आउन सक्ने सम्भावना कायम रहेको अध्ययन टोलीले निष्कर्ष निकालेको छ । टोलीले हिमतालमा पुगेर अध्ययन गरेको थियो ।
त्यहाँ तीन वटा ताल भए पनि दुई वटाको मात्रै पानी निस्किएको पाइएको टोलीले जनाएको छ । यही जेठ १ गते राति हुम्लाको नाम्खा गाउँपालिकामा बाढी आएको थियो । जसका कारण त्यहाँको तिल गाउँ जोखिममा परेको छ ।
































