खुर्कोट–काठमाडौं सडक खण्डमा राति सवारी सञ्चालनमा १५ दिनको निषेध

सक्रिय मनसुनका कारण सम्भावित विपद्‌बाट जोगिन तथा यात्रु सुरक्षाका लागि सिन्धुलीको खुर्कोटदेखि काठमाडौंतर्फ जाने सवारी साधनलाई राति सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शुक्रबार एक सूचना जारी गर्दै असार ६ गतेदेखि लागू हुने गरी राति ६:३० बजेपछि बिहान ५:०० बजेसम्म सार्वजनिक तथा निजी यात्रुवाहक सवारीलाई वि.पि. राजमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोटदेखि काठमाडौंतर्फ प्रस्थान गर्न निषेध गरेको हो।

सिन्धुली, काभ्रेपलाञ्चोक र रामेछापका सुरक्षा निकायबीचको संयुक्त बैठकले मनसुनको प्रभावले पहिरो, सडक अबरुद्ध तथा दुर्घटनाको सम्भावना उच्च रहेकाले यात्रु सुरक्षाका लागि यस्तो निर्णय लिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ।

जिल्ला सुरक्षा समितिका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीद्वारा हस्ताक्षरित सूचनामा यात्रुवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थना गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।