काठमाडौँ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले वर्षाका कारण नभई कुनै हिमताल फुटेर रसुवाको भोटेकोशी नदीमा बाढी आएको हुनसक्ने आशङ्का गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै इसिमोडले हिमताल फुटेको हुनसक्ने बताएको हो ।
इसिमोडका वरिष्ठ जलविज्ञान अनुसन्धानकर्ता प्रदीपमान डङ्गोलले हिमताल विस्फोट भएको शङ्का गरिएको बताए । हालसम्म यसको ठोस प्रमाण भने नरहेको उनको भनाइ छ । उनले भने, “इसिमोडको सन् २०२१ को अध्ययनअनुसार तिब्बतस्थित त्रिशूली नदीको माथिल्लो क्षेत्रको एक हिमताल उच्च जोखिमयुक्त श्रेणीमा रहेको थियो । सन् १९९० देखि २०२० सम्म त्रिशूली नदीको जलाधार क्षेत्रमा हिमतालको आकार ३३ प्रतिशत र सङ्ख्या १६ प्रतिशतले बढेको छ । बाढीअघि लिइएका उपग्रह चित्रहरूमा पनि हिमतालहरूको सङ्ख्या बढेको देखिन्छ, तर हाल बादलको कारण उपग्रह विश्लेषणमा अवरोध पुगेको छ ।”
चीनको माथिल्लो क्षेत्रमा हालसालै भारी वर्षा भएको सङ्केत नभएको भन्दै यसले अत्यधिक वर्षा बाढीको प्रमुख कारण नभएको पनि डङ्गोलले बताए ।
इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोका अनुसार विश्वव्यापी रूपमा बढिरहेको तापमान वृद्धिका कारण प्राकृतिक विपद्को जोखिममा सबैभन्दा बढी पर्वतीय क्षेत्र रहेको छ । इसिमोडका जलवायु तथा वातावरणीय जोखिम विभाग प्रमुख छ्याङ्गोङ झाङले हिमाली क्षेत्रमा प्राकृतिक प्रकोपको स्वरूप जटिल बनिरहेको र भारी वर्षा मात्रै सधैँ बाढीको कारण नबन्ने बताए ।































