कञ्चनपुर । सुदूरपश्चिममा बिहीबारदेखि गौरापर्व विधिवत् रूपमा सुरु भएको छ ।
भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको बिहीबार पहिलो दिन घरघरमा विरुडा राखेर विधिवत् रूपमा सुरु भएको छ । पहिलो दिनलाई विरुडा पञ्चमीसमेत भन्ने गरिन्छ । बिहीबार व्रतालु महिलाले घरमा ‘विरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौरा पर्वको सुरुआत गरेका छन् ।
तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर विरुडा बनाउने चलन छ । पुत्रदा एकादशीको व्रत बसिसकेपछि भाद्र महिनाको विरुडा पञ्चमीदेखि गौरापर्व विधिवत् रूपमा सुरु हुने यहाँका जानकार जानकी अवस्थी बत्ताउँछिन् ।
“एक महिना अगाडिदेखि नै शुद्ध शाहाकार र बह्मचर्यको पालना गरिन्छ, त्यसपछि विरुडा पञ्चमीको दिन महिलाले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाँडामा भिजाउँछन्”, उनले भनिन्, “विरुडा भिजाइँदा माँगकी सगुन फाँग गाउँछौँ ।” गौरादेवीको पूजाआजामा पनि विरुडाको प्रयोग गरिने अवस्थी बत्ताउँछिन् ।
सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनका रूपमा लिइन्छ । सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस) बाट गौराको प्रतिमा बनाइ ‘गौराघर’मा भित्र्याइने व्रतालु निर्मला जोशीले बताइन् ।
“गौरा हाम्रो ठुलो पर्व हो, पुरुष जस्तै नारीले पनि यज्ञोपवितका रूपमा दुवधागो लगाउने गर्छौं”, उनले भनिन्, “गौराको पूजाअर्चनाले विशेष गरी श्रीमान् तथा घरपरिवारका सदस्य निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धिको लागि व्रत बस्छौँ ।”
अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथमा गौरा नचाइन्छ । त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाहरुका साथमा नचाउने गरिन्छ । आजकै दिनदेखि ठाउँठाउँमा देउडासमेत खेलिने प्रचलन छ ।
गौरामा शिवपार्वतीको पूजाआजा गरिन्छ । पौराणिककालमा भगवान् शिव ९महेश्वर० प्राप्तिका लागि गौरा गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी मनोकामना पूरा भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनामा यो पर्व मनाउने परम्परा चल्दै आएको हो ।































