काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । राष्ट्रियसभा गृह, प्रदर्शनी मार्गमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफा रकम मध्येबाट प्रतिशेयर ३० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभामा करिब ९१.५६ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।
सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको अठारौँ वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् ।
कम्पनीले भावी दिनमा मेघा परियोजना सञ्चालन गर्नु पर्ने र थप पुँजी आवश्यक हुने अवस्थामा बोनस सेयर समेत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष अर्यालले भनिन्, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल ३८ अर्ब १९ करोड आम्दानी गरी ६ अर्ब नाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कबापत आफ्नो कूल आयमध्ये १८ अर्ब ४६ करोड रुपैयाँ राजस्वको रुपमा नेपाल सरकारलाई बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको छ ।
कम्पनीले अठारौँ साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम आजदेखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ ।































