इन्डोनेसियामा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ ।
कम गहिराइमा जाने भूकम्पले सतहमा बढी विनाशकारी प्रभाव पार्ने गर्दछ । भूकम्प गएको पूर्वी क्षेत्रमा शक्तिशाली परकम्प महसुस गरिएको थियो । त्यसमध्ये एउटा परकम्प ६.१ म्याग्निच्युडको थियो ।
शनिबार नै पश्चिमी इन्डोनेसियाको उत्तरी सुमात्रामा ६.४ म्याग्निच्युडको भूकम्पसमेत गएको थियो । उक्त भूकम्प १६३ किलोमिटर गहिराइमा गएको थियो ।
माउमेरे बन्दरगाहमा खिचिएको भिडियोमा टर्मिनल भवनको कङ्क्रिटका ठूला टुक्रा यात्रुहरू बसेको स्थानमा खसेको देखिएको छ । जहाजतर्फ जाने बाटो भत्किँदा केही यात्रु समुद्रमा खसेका थिए ।
भूकम्पमा कम्तीमा दुई जना गम्भीर तथा ११ जना सामान्य घाइते भएका छन् । १५० भन्दा बढी घरमा गम्भीर क्षति पुगेको छ भने दर्जनौँ शैक्षिक संस्था, स्वास्थ्य संस्था, धार्मिकस्थल, कार्यालय तथा अन्य सार्वजनिक संरचनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण छ ।
विपद् व्यवस्थापन निकायले प्रभावित क्षेत्रमा राहत सामग्री पठाउन थालिएको जनाएको छ । उसले नागरिकलाई शान्त रहन तथा समुद्री तटीय क्षेत्र र क्षति पुगेका संरचनाबाट टाढा रहन आग्रह गरेको छ ।
इन्डोनेसिया तीन प्रमुख टेक्टोनिक प्लेटको मिलन क्षेत्रमा रहेकाले भूकम्प तथा ज्वालामुखी गतिविधिका लागि जोखिमयुक्त मुलुक मानिन्छ ।
















