काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ ।
नेपाल सरकारको आपूर्ति मन्त्रालयको सहयोगमा आयोजना हुन लागेको मेलामा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघ सहआयोजकका रूपमा रहनेछन्। आयोजकका अनुसार मेला आगामी २०८३ मंसिर १७ गतेदेखि २१ गतेसम्म पाँच दिन सञ्चालन हुनेछ।
मेलामा स्वदेशी तथा विदेशी उत्पादन, औद्योगिक वस्तु, हस्तकलाका सामग्री तथा विभिन्न व्यावसायिक उत्पादनको प्रदर्शनी गरिने अपेक्षा गरिएको छ।
नेपाली उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, निर्यात व्यापार विस्तार गर्ने र स्वदेशी उद्यमी तथा व्यवसायीलाई बजारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो।
मेलाले नेपाली उत्पादनको बजारीकरण, व्यापारिक सम्बन्ध विस्तार तथा स्वदेशी उद्योगको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, उत्पादक, निर्यातकर्ता, आयातकर्ता तथा व्यवसायीबीच व्यावसायिक सहकार्य र व्यापारिक अवसर सिर्जना गर्ने विश्वास आयोजकले लिएको छ।




























