महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् । उनले वाफ महिला च्याम्पियनसिपमा नेपालको प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्ने भएका हुन् ।

साउदी अरेवियामा फेब्रुअरी १८ देखि २८ सम्म हुने उक्त प्रतियोगिताका लागि उनले जिम्मेवारी पाएका हुन् । उनलाई अखिल नेपाल फुटबल संघ९एन्फा०ले बुधबार नियुक्ति दिएको हो । उनी ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी र एपीएफ क्लबका पूर्व प्रशिक्षक हुन् ।

प्रमुख प्रशिक्षक तामाङ सहित टिमको सहायक प्रशिक्षकको रुपमा कमला राखल र टिम व्यवस्थापकको रुपमा विन्दा देवाल नियुक्त भएका हुन् । टिमको गोलरक्षक प्रशिक्षकमा उज्वल मानन्धर रहने छन् ।
नियुक्त भएसँगै प्रशिक्षक तामाङले ४० सदस्यीय टोलीलाई प्रशिक्षणका लागि बोलाएका छन् ।

पश्चिम एसियाली फुटबल महासंघद्वारा आयोजित यस प्रतियोगितामा नेपालसहित ८ टिमले भाग लिनेछन् । जसमा जोर्डन, लेवनान, इराक,प्यालेस्टाइन, साउदी अरेविया, सिरिया, गुआम र नेपाल छन् ।