आज राष्ट्रिय सभा निर्वाचन

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचन आज हुँदै छ । राष्ट्रिय सभा सदस्यको रिक्त हुन लागेको १९ पदका लागि बिहीबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुँदै छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा २० सांसदको पदावधि २० फागुनमा सकिँदै छ । २० मध्ये एक सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित र १९ निर्वाचित हुन् । राष्ट्रिय सभा निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष रहने व्यवस्था छ ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, निर्वाचनका लागि कुल २ हजार ४७ मतदाता रहेका छन् । जसमध्ये कोशीमा कुल ३६७ मतदाता रहेका छन् । त्यस्तै, मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन् । गण्डकीमा २३०, लुम्बिनीमा ३०५ मतदाता छन् । कर्णालीमा १९६, सुदूरपश्चिममा २२८ मतदाता छन् ।

निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न जाँदा आफ्नो परिचय खुल्ने प्रमाण कागजात लिएर मतदान गर्न सक्ने आयोगले जनाएको छ ।

आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, निर्वाचन मण्डलका सदस्य प्रदेशसभाको सदस्य तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा निर्वाचन अधिकृतबाट उपलब्ध गराइएको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्रमध्ये एक परिचयपत्रका आधारमा मतदान गर्न पाइने आयोगले जनाएको छ ।

यस निर्वाचनमा प्रदेशसभाका सदस्यका निम्ति सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

आयोगका अनुसार सातै प्रदेशका विभिन्न समूहका लागि ५२ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलित समूहतर्फ ६, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८, र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवार रहेका छन् ।