एनपीएल खेल्न बोपारा काठमाडौंमा

१६ मंसिर, काठमाडौं । इंग्लिस अलराउण्ड रबि बोपारा नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन् । बोपाराले चितवन राइनोजबाट एनपीएल खेल्नेछन् ।

चितवनले आफ्नो पहिलो खेलमा सोमबार काठमान्डु गुर्खाजको सामना गर्नेछ ।  इंग्ल्याण्डको राष्ट्रिय टिमबाट तीनवटै फर्म्याट खेलिसकेका अनुभवी बोपारा पहिलो पटक लिग खेल्न नेपाल आएका हुन् ।

३९ वर्षीय भेट्रान ब्याटिङ अलराउण्डर बोपाराले इंग्ल्याण्डका लागि १३ टेष्ट, १२० ओडिआई र ३८ टी२०आई खेल खेलेका छन् ।

उनी ओपनिङ र मिडल अर्डर दुवै पोजिसनमा ब्याटिङ गर्न सक्षम खेलाडी हुन् । दायाँहाते ब्याटिङ गर्ने उनले आफ्नो करियरमा ४७८ टी२० खेलमा ९ हजार ४८६ रन बनाएका छन् भने २९१ विकेट पनि लिएका छन् ।

उनले इंग्ल्याण्डको राष्ट्रिय टिमबाहेक आईपीएल, बीबीएल, पिएसएल, सीपीएल, एलपीएललगायत विश्वका धेरै फ्रेन्चाइज टी२० लिग खेलेका छन् । भाइटालिटी टी२० ब्लास्ट र दी हन्ड्रेडमा गरी ५ हजार भन्दा बढी रन बनाएका छन् ।