लुम्बिनी – रुपन्देही प्रहरीले राजस्व छली गरी ल्याएको साढे २९ तोला बढी सुनसहित दुईजना नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सोमबार राति अन्दाजी १० बजेको समयमा पश्चिमबाट पूर्व जाँदै गरेको लु२ख ६५४२ नम्बरको बसमा खानतलासी गर्दा साढे रु ४९ लाख मूल्य बराबरको उक्त सुन बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले राजस्व छली गरी अवैधरुपमा सुन ल्याएको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले खानतलासी गर्दा बसका सहचालक कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ बस्ने वर्ष ३३ को अकबर अलि मिया उक्त धातुसहित पक्राउ परेको जानकारी दिए ।
उक्त सुनको बजार मूल्य रु ४९ लाख ५४ हजार आठ सय १७ रहेको रहेको प्रहरीले जनाएको छ । प्रहरीले मियासहित अर्घाखाँची सुनचाँदी पसलका सञ्चालक सन्तोष सुनारसमेतलाई पक्राउ गरी थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको प्रहरी नायब उपरीक्षक खनालले बताए ।
































