समयमै दूधको भुक्तानी गर्न किसानको माग

भरतपुर । चितवनका किसानले दूधको समयमै भुक्तानी गर्न माग गरेका छन् ।

बुधबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले दूध बिक्री गरेको पैसा नपाउँदा पलायन हुनु पर्ने अवस्था आएको गुनासो व्यक्त गरेका हुन् ।

उनीहरुले सम्बन्धित निकाय समक्ष विभिन्न पाँच बुँदे माग समेत राखेका छन् । ती मागमा सहुलियत ऋण सुलभ तरिकाले प्रदान गर्नुपर्ने, बीमामा देखिएको समस्यामा तत्काल सम्बोधन हुनुपर्ने, बागमती प्रदेश सरकारद्वारा दिँदै आएको दूध उत्पादनमा आधारित अनुदान रकम सबै दुग्ध किसानले सहज तरिकाले प्राप्त गर्नुपर्ने लगायतका छन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले चितवनका दुग्ध किसानका समस्या समाधानमा सरोकारवाला निकाय उदासिन बनेको गुनासो गरे ।दूधको भुक्तानी समयमै हुनुपर्ने जनाउँदै उनले दूधको बजारीकरणमा समेत समस्या रहेको बताए ।