धरहरामा पार्किङ : केन्द्रीय सरकार र मेयर बालेनबीच टकराव

काठमाडौं । केन्द्रीय सरकार र काठमाडौंका मेयर बालेन शाहबीच टकराव उत्पन्न भएको छ। काठमाडौंको धरहरामा पार्किङको व्यवस्था गरेको विषयलाई लिएर टकराव उत्पन्न भएको हो । केन्द्रीय सरकारले धरहराको निर्माण कार्य सम्पन्न नभएकाले त्यहाँ पार्किङ नगराउन मेयरलाई सचेत पारेको छ तर, मेयर बालेनले भने पार्किङ कुनै हालतमा नहटाउने जवाफ केन्द्रीय सरकारलाई दिएका छन् ।

काठमाडौं महानगरले केही दिन अघिमात्रै न्युरोड क्षेत्रभित्र पार्किङ निषेध गर्दै त्यहाँको पार्किङ धरहराको पार्किङ क्षेत्रमा गर्नेगरी व्यवस्था मिलाएको थियो। तर, केन्द्रीय सरकारले भने बालेनको सो कदमप्रति आपत्ति जनाएको थियो । सञ्चारकर्मीसँग कुरा गर्दै सहरी विकासमन्त्री सीता गुरुङले केन्द्रीय सरकारसँग समन्वय नगरी काठमाडौंका मेयरले गैरजिम्मेवार तरिकाले पार्किङ गराएको आरोप लगाईन् ।

निर्माण सम्पन्न नभई धरहरामा पार्किङ गर्नु गैरजिम्मेवार काम भएको र समन्वय र सम्पर्क नगरी आफूखुशी पार्किङ गर्नु राम्रो नहुने मन्त्री गुरुङ बताईन् । मन्त्री गुरुङ भनिन्, ‘एक महिना पर्खिएको भए हुन्थ्यो। अहिले धरहरामा पार्किङ नगर्नु भनेर पत्र पठाएका छौं । उहाँहरूले ध्यान दिनुभएको छैन।’

मेयर बालेनले धरहरामा पार्किङ रोक्न भन्दै केन्द्रले पत्र लेखेपछि सोमबार सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै आफू सो निर्णयबाट कुनै हालतमा पछि नहट्ने बताएका छन्।