काठमाडौ । जिल्ला अदालत काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ।
मंगलबार थुनछेक बहसपछि ४ अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो। यो प्रकरणमा मुछिएका अन्य ६ जनासँग धरौटी माग गरिएको छ।
न्यायाधीश कपिलमणी गौतमको इजलासले अधिकृत खड्कासहित अरुण दाहाल, सरोजकुमार यादव, मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
यही मुद्दामा पक्राउ परेका गीता शाहसँग ५ लाख रुपैयाँ, पदम लामासँग १ लाख, विनोद कार्कीसँग २ लाख, दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग ७र७ लाख तथा रविन अर्यालसँग १ लाख रुपैयाँ धरौटी माग गर्न आदेश दिएको छ।
भिजिट भिसामा युवाहरूलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा ९ जना अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध चलाइएको मुद्दामा यस्तो आदेश आएको हो।
यही माघ १८ गते जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते गरी संगठित अपराध गरेको आरोपमा फरार रहेका १२ जनासहित २२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
अध्यागमन अधिकृत खड्कालाई गत मङ्सिर १८ गते सरकारी कागजात कीर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा पक्राउ गरिएको थियो ।

























