काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहको संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ ।
मेयर शाहको कार्यकक्षमा हिजो बसेको सरोकारवाला कार्यालयका प्रतिनिधिसहितको बैठकले समिति गठन गरेको हो । लक्षित वर्गलाई अस्पतालबाट उपलब्ध गराइने निःशुल्क उपचार सेवा व्यवस्थित, पारदर्शी र प्रविधिमा आधारित बनाउन निर्देशक समितिको बनेको हो ।
सेवा दिन र लिन सहज होस् भनेर समिति गठन गरेको भन्दै मेयर शाहले महानगरले कार्यान्वयनमा ल्याएको अनलाइन प्रणालीले सेवाप्रदायक र सेवाग्राहीलाई प्रविधिले जोड्ने बताए ।
निःशुल्क उपचार पद्धतिलाई प्रणालीमा आधारित पारदर्शी बनाउन महानगरले ‘फ्रीहेल्थ डट काठमाण्डौ डट जीओभी डट एनपी वेब ठेगानामा प्रणाली विकास गरेको छ । यो प्रणालीले कुन अस्पतालमा कुन सेवा छ, बेड सङ्ख्या कति छ, कति वटा खाली छन् भन्ने देखाउँछ । यस्तै कुन रोगको कति जनाले उपचार गराए, को कहिले भर्ना भए, कहिले डिस्चार्ज भए भन्ने विवरण उपलब्ध हुनेछ ।
सरकारले जारी गरेको विपन्न परिचय पत्र तथा वडाका सिफारिसका आधारमा सेवा उपलब्ध हुने र यो सेवा देशभरिका नागरिकका लागि भएको महानगरले जनाएको छ ।