काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक जबर्जस्ती बलात्कारको आरोप लागेका जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश गरेको छ ।
न्यायाधीशहरू हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश गरेको हो ।
जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले गिरीलाई धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाधीश गिरीकी पत्नीले आफूमाथि बलात्कार भएको भन्दै गिरीविरुद्ध जाहेरी दिएकी थिइन् । जाहेरी परेपछि प्रहरीले जिल्ला न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले वैवाहिक बलात्कारको मुद्दा चलाएपछि जिल्ला र उच्च अदालतले गिरीलाई धरौटीमा रिहा गरेका थिए । मुद्दा दायर भएपछि न्यायाधीश गिरी निलम्बनमा छन् । गिरी र आरतीबीच १२ असार २०७५ मा विवाह दर्ता भएको थियो । आरती गिरीकी दोस्री पत्नी हुन् ।
त्यसै समयमा आरतीले पनि ४ मंसिर २०७६ मा कैलाली जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । भ्रुण हत्या र वैवाहिक बलात्कारको आरोप लगाउँदै मुद्दा दर्ता भएको थियो । स्रोत राजधानीदैनिक