भारतीय भूमिबाट सल्केको आगोले पर्सामा लाखौँको क्षति

वीरगञ्ज। सीमावर्ती भारतको गहुँखेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जल्दा लाखौँको क्षति भएको छ ।

भारतीय भूमिमा पर्ने खेतबाट शनिबार दिउँसो ३ बजे सल्किएको आगोले १५ किसानको फुसको घर, गहुँ अन्नवाली, पराल, कुखुरा फार्मलगायत सम्पत्तिमा क्षति पुर्याउँदा रु १२ लाख ८४ हजार बराबरको क्षति भएको छ ।

छिपहरमाई गाउँपालिका–१ का वडाध्यक्ष कामेश्वरप्रसाद यादवले भारतीय भूमिबाट सल्किएका आगोका कारण नेपालका १५ किसानको भित्र्याउने अवस्थाको बाली नष्ट भएको बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका नायब प्रहरी उपरीक्षक कुमारविक्रम थापाले नेपाली भूमिमा आगो सल्किएको थाहा पाउनेबित्तिकै सबै निकायको समन्वयमा तीन घण्टाभित्रै आगो निभाउन सम्भव भएको बताए ।