काठमाडौं । कतारका अमिर९राजा० शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले कतारका अमिर अल थानी नेपाल आउने जनाएको हो ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको हार्दिक निमन्त्रणामा कतार राज्यका अमिर महामहिम शेख तमिम बिन हमाद अल थानीले २३ र २४ अप्रिलमा नेपालको राजकीय भ्रमण गर्ने जनाएको छ ।
अमिरले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्नेछन् भने उनको सम्मानमा राजकीय भोजको आयोजना हुनेछ । उनले २४ अप्रिल अर्थात् बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।
नेपालस्थित कतार दूतावास र परराष्ट्रका अधिकारीहरू भ्रमणको तयारीमा जुटेका छन् । खाडी मुलुकबाटै पहिलोपटक राष्ट्र प्रमुखको उच्चस्तरीय भ्रमण हुन लागेको हो । नेपालीहरूको प्रमुख गन्तव्यमध्येको एक कतारका अमिरको नेपाल भ्रमणले दुई मुलुकको रोजगारी तथा वैदेशिक सम्बन्ध पनि थप प्रगाढ हुने विश्वास लिएको छ ।
आइतबारदेखि एसियाली मुलुकको औपचारिक भ्रमणमा निस्किएका अमिर फिलिपिन्स र बंगलादेशको भ्रमण सकेर मंगलबार काठमाडौं आउने कार्यक्रम रहेको छ । उनी बुधबारै स्वदेश फर्किनेछन् ।