२६औँ भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौं । ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ मूल नाराका साथ २६ औँ भूकम्प सुरक्षा दिवस– मनाइँदैछ। दिवस मनाउन गृहमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। उपत्यकाका तीन स्थान काठमाडौँको चन्द्रागिरी, ललितपुर र भक्तपुरमा कार्यक्रम आयोजना हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा भूकम्प दिवसको औपचारिक समारोह आयोजना हुने गृह मन्त्रालय मातहतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइन्छ। दिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्यूडको भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार १९९० सालको भूकम्पमा परी आठ हजार ५१९ जनाको मृत्यु भएको थियो। ८० हजार घर ध्वस्त भएका थिए। ध्वस्तघरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार २४८ संरचना भत्किएको थियो।