काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र ‘सतीदेवी’प्रति चासो लिँदै नेपालमा यस्ता मौलिक चलचित्र निर्माणमा जोड दिनु पर्ने बताएकी छन् ।
मन्त्री शर्मा र ‘सतीदेवी’का लेखक,निर्माता, निर्देशक लक्ष्मण सुवेदीबीच बुधबार मन्त्रीकै कार्यकक्ष सिंहदरवारमा भएको भेटघाटमा नेपाली चलचित्रको विकास, बिस्तार र श्रीवृद्धिका लागि मौलिक कथा प्रस्तुतिमा जोड दिनुपर्ने मन्त्री शर्माको जोड थियो ।
सिंहदरबारमा भएको भेटघाटमा निर्देशक सुवेदीले मन्त्री शर्मालाई आफ्नो चलचित्रको विषयबस्तुको बारेमा जानकारी गराए । मन्त्री शर्माले ‘सतीदेवी’ चलचित्रबारे निकै रुचिका साथ सुनेर यस प्रकारका मौलिकता बोकेका नेपालीपनयुक्त चलचित्रलाई राज्यले विशेष सहयोग गर्ने प्रतिबद्धता भएको निर्देशक सुवेदीले बताए ।
मन्त्री शर्माले आफू सधैँ नेपाली चलचित्रको गुणस्तरीय र व्यावसायिक विकासको पक्षमा रहेको जोड दिँदै छिट्टै नै चलचित्र ऐन लागू गर्न आफू लागिपरेको बताइन् ।