काठमाडौं । महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मदिरा बिक्रीमा रोक लगाइएको छ ।
यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर यस्तो निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना जारी गरी भोलि बुधबारदेखि फागुन २७ गतेसम्म गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पशुपतिनाथ क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला–तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु र मदिरा बिक्रीमा रोक लगाएको छ ।
पशुपतिनाथ क्षेत्रमा तोकिएका चारकिल्लाभित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा पूर्णरुपमा रोक लगाउने निर्णय गरिएको विकास कोषले जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रमा सजावटको काम सुरु भएको जनाएको छ । मन्दिर आसपासका क्षेत्रमा सरसफाइदेखि फूल तथा विभिन्न रङले सिङ्गार्ने कामसम्म सुरु गरिएको कोषका सदस्यसचिव राजु कुमार खत्रीले जानकारी दिए ।
कोषले यस पटकको महाशिवरात्रिमा करिब २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको बताए ।






























