पर्सा । जन्तीलाई खानामा माछा नदिँदा जन्ती र बेहुलीपक्ष बिच कुटपिटपछि बिहे बहिष्कार गरी जन्ती फिर्ता भएका छन् ।
पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका ४ को मधवल गाउँमा सखुवा प्रसौनी गाउँपालिकाको महुवनबाट सोमबार राती आएको जन्तिमा बेहुला पक्ष र बेहुली पक्षबीच कुटाकुट हुँदा बेहुली नलिईकन बेहुलासहितको जन्ती फिर्ता गएका हुन् ।
जन्तीमा आएकाहरुले खानामा माछा नपाएको कारण भनाभन हुँदै कुटापिटमा परिणत भएको थियो । कुटापीटमा बेहुलाका बुबा घाइते भएपछि बिहेनै नगरी जन्ती खालीहात फिर्ता हुने अवस्था आएको थियो।
कुटपीट भएपछि जन्तीहरु सबैजना भागेका थिए । जन्ती भागेको देखेर बेहुली पक्षका मानिसहरुले बेहुलालाई घरमै थुनेर राखेका थिए । घटनाको खबर पाएर तत्काल इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख इन्स्पेक्टर मोहन विक्रम केसीको टोलीले बेहुलाको उद्दार गरी प्रहरी कार्यालयमा सुरक्षित राखेका थिए ।
इलाका प्रहरी कार्यालय पोखरीयामा हिजो मंगलबार दुईपक्ष बिच छलफल हुँदा बेहुलीले बिहे गर्न इन्कार गरेपछि जन्ती सहित बेहुला आफ्नो घर फर्केको इन्स्पेक्टर केसीले जाकारी दिए । केटी पक्षधरले दाइजोको १२ लाख रकम फिर्ता लिने अडान राखेका छन् भने केटाको पक्षले बिहेमा खर्च भएको भन्दै पैसा फिर्ता नदिने दाउमा रहेका छन।