काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव तथा बंगलादेश आसपास रहेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभावका कारण केही भू-भागमा वर्षाको सम्भावना रहेको हो ।
विभागका अनुसार बिहान कोसी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ ।
विभागले दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
कोसी प्रदेशको थोरै स्थान र बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।