बंगलादेशमा आन्दोलनमा पक्राउ परेका विद्यार्थी नेता रिहा

ढाका– बंगलादेशमा निजामती सेवामा जागिरको आरक्षण प्रणालीको विरोधमा भएको आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेतालाई प्रहरीले बिहीबार रिहा गरेको छ । 

प्रहरी र अस्पतालबाट एएफपीले पुष्टि गरेको तथ्यांकअनुसार विद्यार्थीले गत महिना देशव्यापी र्‍याली निकालेका थिए, जसमा प्रहरीको दमन र कम्तीमा २०६ जनाको मृत्यु भएको थियो ।

डेपुटी कमिस्नर जुनैद आलमले भने, ‘आरक्षण प्रणालीविरूद्धको आन्दोलनका सबै छ जना संयोजकलाई आज दिउँसो उनीहरूको परिवारको जिम्मा लगाइएको छ ।’ 

प्रमुख नेता नाहिद इस्लाम र अन्य दुई जनालाई गत शुक्रबार राजधानी ढाकाको एक अस्पतालबाट सादा पोसाकका गुप्तचरहरूले जबर्जस्ती डिस्चार्ज गरी अज्ञात स्थानमा लगेका थिए ।

त्यसपछिका दिनहरूमा अन्य तीन जनालाई हिरासतमा लिइएको थियो र सरकारले उनीहरूलाई आफ्नो सुरक्षाको लागि हिरासतमा राखिएको बताएको थियो । न्यायमन्त्री अनिसुल हकका अनुसार छ जनाले स्वेच्छाले प्रहरी हिरासतमा बस्न चाहेका छन् । 

उनले भने, ‘उहाँहरू स्वेच्छाले आउनुभएको थियो । उहाँहरू स्वयंले आफू जान चाहेको बताएपछि उनीहरूलाई घर फर्कन अनुमति दिइएको छ ।’

आन्दोलन चर्किएपछि हसिना सरकारले सेना तैनाथ गरेर कर्फ्यु लगाएको थियो । कुल १७ करोड जनसङ्ख्या भएको देशभरि ११ दिनसम्म मोबाइल इन्टरनेट नेटवर्क बन्द गरिएको थियो भने अदालतले आरक्षण प्रणालीबारे अर्को महिना गर्ने तयारी गरेको फैसला केही दिन पहिले गरेको थियो । 

स्थानीय सञ्चारमाध्यमका अनुसार अशान्तिका कारण १० हजारभन्दा बढीलाई पक्राउ गरिएको छ ।