प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरु परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज नवनियुक्त तीन राज्यमन्त्रीको सपथ ग्रहणपछि बधाई तथा शुभकामना दिँदै  आफ्नो कार्यक्षेत्रको सदुपयोग गर्न सुझाव दिनुभयो ।

प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीहरुले पनि राज्यमन्त्रीलाई आवश्यक जिम्मेवारी दिने र परिणाम निकाल्ने विषयमा ध्यान दिन आग्रह गर्नुभयो । अहिलेको विषम परिस्थितिलाई अनुकूलस्थितितर्फ लैजानका लागि आफूहरु प्रयत्नरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नवनियुक्त राज्यमन्त्रीलाई गलत मान्छेहरुको संगत र उनीहरुको प्रलोभनमा नपर्न पनि सचेत गराउनुभयो ।

उहाँले राज्यमन्त्रीहरुले मन्त्रालयसँग सम्बन्धित सबै विषयमा विस्तृत अध्ययन गरेर सूचनाको भण्डारको रुपमा रही बढी जानकारी लिएर मन्त्रीहरुलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

यसैगरी प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको इन्धन भण्डारण खतरा रहेको भनी आइरहेको विषयप्रति चासो जनाउँदै खतरा भनिएको भण्डारणलाई अन्यत्र स्थानान्तरण गर्न पनि सम्बन्धित मन्त्री र राज्यमन्त्रीलाई ध्यान पुर्‍याउन निर्देशन दिनुभयो ।